इन्द्रेणी संवाददाता
दाङ, १४ भदौ । नेपालमा शान्ति स्थापना भएको लामो वितिसक्दा पनि सशस्त्र द्धन्दकालमा वेपत्ता पारिएका आफन्तहरुको अवस्था अझै अज्ञात भएको भन्दै वेपत्ता परिवारका आफन्तहरुले सरकारसँग गुनासो गरेका छन् ।
उनीहरुले वेपत्ता पारिएका आफन्तहरुको अवस्था तुरुन्त सार्वजनिक गर्न माग गरेका छन् । आज वेपत्ता पार्ने कार्यविरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा सरकारलाई ज्ञापनपत्र बुझाउदै यस्तो माग गरेका हुन् ।
समावेसी संक्रमणकालिन न्याय, मेलमिलाप तथा द्धन्द समाधानका लागि जिल्ला सञ्जाल (टिजे सञ्जाल) दाङको नेतृत्वमा गएको वेपत्ता परिवारका आफन्तहरुले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई १३ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।
सो क्रममा सञ्जालका संयोजक प्रकाश चौधरीले प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई ज्ञापनपत्र बुझाएका थिए । यसैक्रममा सञ्जालले जिल्ला समन्वय समितिमार्फत पनि सरकारलाई ज्ञापनपत्र बुझाएको थियो ।











