काठमाडौं, १३ भदौ । पछिल्ला दिनहरुमा काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको दर तीब्र छ । कोरोनाका विरामीको चाप बढ्दै गएपछि उपचारका लागि अस्पतालमा शय्या अभाव हुन थालेको छ ।
संक्रमितहरुले शय्या अभावकै कारण उपचार नपाएर ज्यान गुमाउनु नपरोस् भनेर सरकारले तत्काल नौ हजार शय्या थप्ने तयारी गरेको छ । तीमध्ये अधिकांश शय्या आइसोलेसनका लागि तयार भइसकेका छन् ।
ती शय्यामध्ये लक्षण भएका सङ्क्रमितको उपचार गर्न दुई हजार र बाँकी सात हजार लक्षण नभएका सङ्क्रमितलाई आइसोलेट गर्न तयार गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका कोभिड–१९ इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) का प्रमुख डा. गुणराज लोहनीका अनुसार मन्त्रालयले सरकारी, निजी अस्पताल तथा अन्य भवन प्रयोग गरी आइसोलेसन सेन्टर तथा उपचारस्थल तयार पारेको छ । उनले आइसोलेसनका लागि डेढ अर्ब बजेट छुट्ट्याइएको पनि जानकारी दिए ।
