इन्द्रेणी संवाददाता 

काठमाडौं । गायन रियालिटी सो ‘नेपाल आइडल–३’ को उपाधि सज्जा चौलागाईले लिएकी छन्। एपी वान टेलिभिजनबाट प्रसारण हुँदै आएको रियालिटी सो को विजेता घोषणा एपीवान टेलिभिजनको स्टूडियोबाट अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले गरेका हुन्।

नेपाल आइडल सिजन ३ की विजेता सज्जा चौलागाईले पुरस्कारस्वरुप रु। ५० लाख नगद पाउने भएकी छिन् भने फस्ट रनरअप प्रवीण भेटवालले रु। १० लाख नगद र सेकेन्ड रनरअप किरण कुमार भुजेलले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउने भएका छन्।

शुक्रबार टप थ्री प्रतियोगीसहित थोरै उपस्थितिमा ग्रान्ड फिनाले आयोजना गर्ने बताइएको भए पनि नेपाल आइडल कार्यक्रमकै एक जना स्टाफलाई कोरोना संक्रमण भएको पत्ता लागेपछि सबै टोलीलाई आइसोलेसनमा राखिएको र टिभी स्टूडियोबाटै विजेता घोषणा गर्नुपरेको एपीवान टेलिभिजनले जनाएको छ।

प्रतियोगिताको टप थ्रीमा सज्जा चौलागाईं, प्रवीण बेडुवाल र किरणकुमार भुजेल पुगेका थिए। कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्यु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका छन्। यसअघि नेपाल आइडल सिजन १ मा बुद्ध लामा र सिजन २ मा रवि ओडले यो उपाधि प्राप्त गरेका थिए।

को हुन् सज्जा ?

116799602_171953927719137_2024698894852402819_n

मोरङ पथरीकी सज्जा चौलागाई‌ नेपाल आइडल सिजन ३ की विजेता बनेकी छिन्। नेपाल आइडलमा छनोट भएसँगै उनको रक पप र भर्सटायल गायकीको चर्चा हुन थाल्यो। उनको प्रस्तुति र बोल्ड स्वरको हरेक कार्यक्रममा प्रशंसा हुने गरेको थियो।

कक्षा ८ मा पढ्दा स्कुलमा भएको गायन प्रतियोगितामा उनले पहिलो स्थान प्राप्त गरिन्। बाबा मोरङमा र आमा साइप्रसमा भएकी सज्जा आफ्नो भाइसँगै हुर्किएकी हुन्।

ठमेल, दरबारमार्ग तथा कमलपोखरी क्षेत्रमा रहेका लाउन्जहरूमा उनी लाइभ गीत गाउने गर्थिन्। उनको ‘दी लोडिङ’ नामक ब्यान्ड थियो। कलेज पढ्दै, लाइभ गीत गाउँदै उनको दैनिकी चलिरहेको थियो। लाउन्जहरूमा हिन्दी, रक र अंग्रेजी गीत बढी गाउनुपथ्र्यो। तीनदेखि चार घण्टा निरन्तर गीत गाउनुपथ्र्यो।

पहिलो पटक उनले फ्लेवर्स रेस्टुरेन्ट तारागाउँमा गाएकी थिइन्। गाएर कमाएको पहिलो कमाइ पाँच सय रुपैयाँ थियो। उनका आमाबुवाले गाउन सधैं सहयोग गर्छन्। ब्याचलर्सकी विद्यार्थी सज्जा नेपाल आइडल सिजन–३ को अडिसनले यता तानिएकी हुन्।

सुरुमा उनले डिजाइनर बन्ने सपना बोकेकी थिइन् तर गीतले उनलाई पछ्याइरह्यो। गायनमै अगाडि बढ्छु भन्ने त थिएन तर लाइभ गायन र नेपाल आइडलले उनलाई गायनबाट अलग हुन नसक्ने बनायो।

नेपाल आइडलमा अरूले गाएको सुन्दा यत्तिको त म पनि गाउन सक्छु भन्ने लाग्थ्यो उनलाई। गायक सविन राईकी फ्यान सज्जा नेपाल आइडलले आफूलाई संगीतसँग अझ नजिक बनाएको बताउँछिन्।