काठमाडौँ, १० भदौ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौँ उपत्यकामा गरिएको निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ ।
अघिल्लो पटक एक साताको लागि गरिएको निषेधाज्ञा बुधबार राति १२ बजेपछि सकिँदै थियो । तर आज बुधबार उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीको बसेको संयुक्त बैठकले निषेधाज्ञा एक साताको लागि थप्ने निर्णय गरेको हो ।
काठमाडौँ, भक्तपुर र लतिलपुरका प्रमुख जिल्ला अधिकारीले मङ्गलबार तीन जिल्लाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर, स्वास्थ्य कार्यालयका प्रमुखहरूसँग पनि छलफल गरेका थिए । थपिएको समयसँगै अब भदौ १७ गते रातिको १२ बजेसम्म तीनैवटा जिल्लामा निषेधाज्ञा लागू हुनेछ ।











