इन्द्रेणी संवाददाता
दाङ, ९ भदौ । कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै दाङमा रातिमा जारी निषेधाज्ञा कायमै रहने भएको छ ।

ghorahiजिल्ला प्रशासन कार्यालय दाङमा आज मंगलबार बसेको संकट व्यवस्थापन केन्द्रको वैठकले दैनिक साँझ ७ बजेदेखि विहान ५ बजेसम्मका लागि निशेधाज्ञालाई कायमै राख्ने निर्णय गरेको हो ।

वैठकले रातको समयमा बजार, यातायात, हिँड्डुलमा समेत पूर्णरुपले रोक लगाउने, दिउँसो पूर्णरुपले सुरक्षा मापदण्ड अपनाएर बजार, यातायात, कार्यालयहरु सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

 

– रातिको निषेधात्रा कायमै
-भदौ ११ गतेदेखि सार्वजनिक, निजी सवारी साधनमा जोडबिजोड प्रणाली
-मास्क नलगाउनेलाई जरिवानासहित कारवाही गरिने

 

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षत्तामा गाउँपालिका प्रमुखहरु, सुरक्षा निकायमा प्रमुखहरु, विषयगत कार्यालयहरु, उद्योग वाणिज्य संघ, च्याम्वर, नेपाल पत्रकार महासंघलगायतको उपस्थितिमा बसेको वैठकले भदौ ११ गतेदेखि जिल्लाभर लागू हुने गरी निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोड बिजोड प्रणाली लागू गर्ने, बजार लगायतका स्थानमा स्वास्थ्य मापदण्ड पुरा नगर्नेलाई नगद तथा अन्य कारबाही गर्ने निर्णय भएको वैठकमा सहभागी नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनले जानकारी दिएका छन् ।

वैठकले बजारलाई व्यवस्थित गर्नका लागि व्यवसायी तथा ग्राहक सबैले अनिवार्य स्वास्थ्य मापदण्ड प्रयोग गर्ने, छेकबार बनाउने, प्रचारप्रसारका लागि माइकिङ, सूचना सार्वजनिक गर्ने निर्णय गरेको छ । वैठकले सबै गाउँपालिकामा क्वारेन्टाइन, आइसोलेशनको व्यवस्था गर्ने, कन्ट्रयाक ट्रेसिङ, चेकजाँच बढाउने निर्णय गरेको छ ।

त्यस्तै बढी भिडभाड हुने वैंकिङ क्षेत्र, मालपोतलगायतका कार्यालयहरुमा हुने कामकारबाही व्यवस्थित गर्ने, सबै कार्यालयमा अनिवार्य मास्क प्रयोग गरेर मात्र सेवाग्राहीहरुको प्रवेश व्यवस्था मिलाउनेलगायतका निर्णय बैठकले गरेको छ ।

वैठकमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहागरपालिकाका उपप्रमुख माया आचार्य, लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, बबई गाउँपालिकाका प्रमुख भुवनेश्वर पौडेल, दंगीशरण गाउँपालिका प्रमुख भागिराम चौधरीलगायतकाले आ–आफ्ना सुझाबहरु राखेका थिए ।