काठमाडौं, १ भदौ। भ्रष्टाचार गरेको ठहर भएपछि नेपाली सेनाका सहायक रथी प्रयोगजंग राणासहित तीन जनालाई सैनिक सेवाबाट बर्खास्त भएका छन् ।
सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरमा सैनिक अदालतले पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्यतालिम केन्द्रमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरसमेत गरेको ठहरपछि आइतबार सहायक रथी राणासहित महासेनानी नवीन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट हटाउने गरी फैसला गरेको हो ।
सैनिक स्रोतका अनुसार राणाले १ करोड ५२ लाख २७ हजार ३ सय २१ रुपैयाँ २९ पैसा हिनामिना गरेको ठहर छ । गत जेठदेखि राणा सेनाको राष्ट्रिय सेवा दलमा थुनामा थिए । स्रोतका अनुसार राणालाई बिगोबमोजिमको रकम असुल गराएर भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहर हुने गरी करबाही गरिएको छ । उनलाई सुरुमा ८ करोड रुपैयाँ घोटालाको आरोप लागेको थियो ।











