तुलसीपुर, २६ साउन । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले कोरोना संक्रमणको अवस्था भयावह हुन सक्ने भन्दै सावधानी अपनाउन अपिल गरेका छन् । छिमेकी जिल्लाहरुमा संक्रमण व्यापकरुपमा फैलिएको उल्लेख गर्दै उनले लापरबाही गरे भयावह अवस्था आउन सक्ने समेत संकेत गरेका छन् ।

ghanashyam copy“हाम्रा छिमेकी जिल्लाहरुमा भने यसले निकै भयावह अवस्था सृजना गरेका कारण हामीले बेलैमा सचेतना अपनाउन सकेनौ भने अवस्था गम्भिर हुने देखिन्छ ।“ सार्वजनिक अपिल मार्फत नगरप्रमुख पाण्डेले आग्रह गरेका छन् ।

सार्वजनिक यातायातमा यात्रा गर्दा, कार्यक्रममा सहभागि हुँदा, बजारमा किनमेल गर्दा या घर बाहिर निस्कँदा अनिवार्यरुपमा सामाजिक दुरीको पालना गर्नुका साथै मास्कको समेत अनिवार्य प्रयोग गर्न उनले अनुरोध गरेका छन् ।

“हामीले गर्ने सानो हेलचक्राईले हामी मात्रै होइन हाम्रो परिवार, समाज र देशलाई समेत प्रभाव पार्न सक्ने भएको हुँदा कोरोना संक्रमण नफैलियोस् भन्नका लागि संवेदनशिल हुनुपर्ने देखिन्छ ।” उनले अपिलमा उल्लेख गरेका छन् ।

कोरोनाको लक्षण देखिएमा तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य शाखा या पैसा नलाग्ने टोलफ्री नम्वर १६६०८२५२००० मा सम्पर्क गनुका लागि उनले अनुरोध गरेका छन् ।

“ जीवन रहेमात्र भविष्यमा सुन्दर सपना पुरा गर्न सकिन्छ । त्यसैले नगरवासीको जीवन रक्षाका लागि हामीले अधिकतम प्रयास गरेका छौं ।” अपिलमा उल्लेख छ ।