काठमाडौं, १३ साउन । चरम शक्ति–संघर्षको व्यवस्थापनका लागि सहमति जुटाउने एक महिनाको असफल गृहकार्यपछि नेकपा विवाद थप जटिल मोडमा प्रवेश गर्ने सम्भावना बढेको छ । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट केपी ओलीको राजीनामा मागेको प्रचण्ड–नेपाल समूह अब पार्टी बैठकबाट एक पद छाड्न निर्देशन दिने निष्कर्षमा पुगेको छ । तर, ओली समूह मंगलबारको बैठक टार्ने रणनीतिमा छ ।

kpसोमबार बिहान प्रचण्डनिवासमा भएको सचिवालयका चारसहित स्थायी कमिटीका केही सदस्यबीचको छलफलमा मंगलबारबाट चल्ने स्थायी कमिटी बैठकबाट ओलीलाई एक पद छाड्न निर्देशन दिने सहमति बनेको हो । ‘प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद छाड्न निर्देशन दिने गरी बैठक चलाउनुपर्छ भन्ने छलफल भएको छ,’ बैठकमा सहभागी स्थायी कमिटीका एक सदस्यले भने, ‘नियमित एजेन्डामा केही दिन छलफलपछि यस्तो निर्देशन आउन सक्छ । त्यसपछि केन्द्रीय कमिटी बैठक बोलाउने तयारी छ ।’

ओली–प्रचण्ड लगातार छलफल हुँदा पनि कुनै सहमति नबनेपछि नेकपाको विवादले नयाँ बाटो समात्न थालेको हो । ओलीले आफू दुवै पदबाट नहट्ने भन्दै हटाएर देखाउन चुनौती दिएका छन् । यस्तो वेला प्रचण्ड–नेपाल समूहको नयाँ रणनीति र ओलीको अडानले नेकपाको अन्तरकहल कहाँसम्म पुग्छ भन्ने अनिश्चितता थपेको छ नयाँ पत्रिकामा खबर छ। एकतर्फी बैठक चलाए पार्टी एकता भंग हुने बुझाइमा रहेको ओली समूह अल्पमत÷बहुमतको नाममा इतर समूह अघि बढ्न खोजे सबै चुनौती सामना गर्ने ‘मुड’मा छ ।

पार्टी एकताको मर्मअनुसार दुई अध्यक्षको सहमतिबाहिर कुनै निर्णय हुन नसक्ने ओली समूहको बुझाइ छ । तर, प्रधानमन्त्रीले पार्टीलाई बेवास्ता गर्दै एकतर्फी रूपमा सरकार चलाएको प्रचण्ड–नेपाल समूहको आरोप छ ।

सोमबार प्रचण्डनिवासमा उनीसहित वरिष्ठ नेता नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले स्थायी कमिटी सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, युवराज ज्ञवाली, देव गुरुङ, पम्फा भुसाल, वर्षमान पुन, गिरिराजमणि पोखरेल र जनार्दन शर्मासँग छलफल गरेका थिए ।