दीपक शर्मा
बर्दिया, १२ साउन । वर्दियाको ठाकुरबाबा नगरपालिका भुरिगाउँमा रहेको क्वारेन्टाइनमा वसेका एक जनाले आत्महत्या गरेका छन् । भारतबाट नेपाल आएर त्यहाँ वस्दै आएका रामबहादुर सावदले गएराति आफूले विच्छाउने तन्नाको पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार रजौरेले बताए ।

Suicidefebअछाम घर भएका सावद भारतबाट कैलाली हुँदै बर्दिया आएका थिए । अछाम जाने अवस्था नभएपछि सावद सामान्य नाता पर्ने बर्दियाको ठाकुरबाबा नगरपालिकाको सैनवारमा आएको र त्यहाँ वस्ने वातावरण नभएपछि बाटोमा अचेत अवस्थामा फेला परेपछि क्वारेन्टाइनमा राखिएको ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजालले जानकारी दिए ।

सावद भारतबाट साउन ९ गते भुरिगाउँ आफन्त कहाँ आएका थिए । मृतकको स्वाब परीक्षणका लागि पठाइएको छ । पिसीआर रिपोर्ट आइनसकेका कारण उनको शव पनि उठाइएको छैन ।

भुरिगाउ सैनवारमा आफन्त कहाँ आएका सावदलाई प्रहरी र आफन्त मिलेर क्वारेन्टाइनमा राखिएको हो । मृतकको शव क्वारेन्टाइनबाट नउठाइएका कारण स्थानीयमा त्रास छाएको छ । आफन्तका अनुसार सावद डिप्रेसनको विरामी थिए । पिसीआर रिपोर्ट नआएसम्म केही गर्न नसकिने प्रहरीले जनाएको छ ।