काठमाडौँ । श्रीमती गीता ढकालको हत्या गरेपछि जेल परेका सशस्त्र प्रहरी बलका पूर्वडीआइजी रञ्जन कोइराला थुनामुक्त भएका छन्।

०६८ माघ ८ मा पक्राऊ परेका कोइराला साढे ८ वर्षपछि बिहीबार डिल्लीबजार कारागारबाट थुनामुक्त भएका हुन्।

हत्या मुद्दामा जिल्ला र पुनरावेदन अदालतले गरेको जन्मकैदको फैसलालाई यहीँ असार १५ गते सर्वोच्च अदालतले घटाएर ८ बर्ष ६ महिनामा झारिदिएको छ। सर्वोच्चले जिल्ला र पुनरावेदन अदालतले गरेको फैसलाको सजाय घटाइदिएपछि रञ्जन ११ बर्ष कैद छूट पाएर थुनामुक्त भएका हुन्।

कोइरालाले साढे ८ वर्षअघि श्रीमती गीता ढकाललाई मारेर प्लास्टिकमा पोको पारी मकवानपुरको टिष्टुङ जंगलमा पुर्‍याई पेट्रोल छर्केर जलाएका थिए।

‘गीताले नै रिस उठाएका कारण मारेको’ भन्दै सर्वोच्चले उनलाई जिल्ला र पुनरावेदन अदालतले गरेको सर्वस्वसहितको जन्मकैद सजाय घटाइदिएको हो।

श्रीमती मारेका कोइरालालाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले ‘सर्वस्वसहित जन्मकैद चर्को हुने’, ‘नाबालक छोराहरुको हेरचाह, संरक्षण र शिक्षादिक्षामा प्रभाव पर्ने देखिएको’ जस्ता कारण देखाउँदै कैद सजाय घटाएको थियो।

जिल्ला र पुनरावेदन अदालतले कोइरालालाई दोषी ठहर गरेको फैसला मिले पनि सर्वस्वसहित जन्मकैदको सजाय नमिलेको सर्वोच्चको तर्क छ।

काठमाडौँ जिल्ला अदालतले ०७१ वैशाख ७ मा सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो। सो फैसला तत्कालीन पुनरावेदन अदालत पाटनले ०७२ मंसिर २३ मा सदर गरेको थियो।

थुनामुक्त रञ्जनलाई रिसिभ गर्न पुगिन् प्रेमिका

यसैबीच थुनामुक्त रञ्जन कोइरालालाई रिसिभ गर्न प्रेमिका तारा रेग्मी डिल्लीबजार कारागार पुगेकी थिइन्। बा १८ च ५४१७ नम्बरको कार चलाएर रञ्जनलाई लिन कारागार पुगेकी ताराले आफूहरुको विवाह भइसकेको बताइन्।

अदालतले नाबालक छोराहरुको अभिभावकत्वका लागि भनेर जेल सजाय मिनाहा गरे पनि थुनामुक्त बालाई रिसिभ गर्न छोराहरु कारागार गएनन्। रञ्जन र गीता ढकालका दुई छोराहरु रहेका छन्। अदालतले नाबालक भनेका छोराहरु एउटा २२ र अर्को १७ वर्ष पुगिसकेका छन् ।