दाङ, २ साउन । दाङमा व्यावसायिक माछापालनका लागि आएको ठूलो रकम खर्च नभएर फिर्ता जाने भएको छ । जिल्लामा व्यावसायिक माछापालनका लागि माछापोखरी विस्तार, कृषकलाई औजार सहयोग तथा माछापालन व्यवसाय प्रवद्र्धनका लागि विनियोजित ९६ लाखमध्ये १७ लाख मात्रै खर्च भएको छ ।
संघीय र प्रदेश सरकारले विनियोजन गरेको सो बजेट कोरोना महामारीलगायतका विविध कारणले खर्च हुन नसकेको जिल्ला भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले बताएको छ ।
केन्द्रका मत्स्य विकास अधिकृत महेन्द्र यादवका अनुसार माछापालन तथा माछापालन प्रवर्द्धनका लागि आएको कुल ९६ लाखमध्ये खर्च हुन नसकेर ७८ लाख २४ हजार ३० फ्रिज भएको छ ।
‘बजेट कार्यान्वयनको क्रम जारी थियो तर एक्कासी चैत्र ११ गतेदेखि लकडाउन भयो’, उनले भने, ‘लकडाउनका कारण माछापोखरी विस्तार, कृत्रिम जलाशय संरक्षणसँगै माछापालन किसानका लागि गोष्ठीसमेत नभएर बजेट फिर्ता जाने अवस्था आयो ।’
केन्द्रमा आएको कुल बजेटमध्ये माछापोखरी विस्तारका लागि आएको ४५ लाखमध्ये ३६ लाख ३९ हजार खर्च हुन सकेन । बजेट अनुसार यसवर्ष जिल्लाका विभिन्न ठाउँमा गरी १५ हेक्टर क्षेत्रफलमा माछापोखरी विस्तार गर्ने कार्यक्रम थियो ।











