काठमाडौं, २ साउन । सहमति गर्ने दुई सातादेखिको प्रयास असफल भएपछि नेकपाको आन्तरिक विवाद फेरि स्थायी कमिटीमै फर्किने भएको छ । स्थायी कमिटीबाट केन्द्रीय कमिटी बैठक बोलाउने तयारी भएको छ ।
१७ असारयता चारपटकसम्म स्थगित स्थायी कमिटी बैठक शुक्रबार बालुवाटारमा बोलाइएको छ । स्थायी कमिटी बैठकमा पेस भएका एजेन्डा र पार्टी विवादमाथि छलफलका लागि भदौ पहिलो साता केन्द्रीय कमिटी बैठक बोलाउने तयारी छ । योसँगै प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने नेकपाभित्रको माग कम्तीमा एक महिना पछाडि धकेलिनेछ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार भएको अध्यक्ष ओली, पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहितको छलफल निष्कर्षविहीन भएपछि विवाद स्थायी कमिटीमै फर्किने निश्चित भएको हो । सहमतिको कुनै नयाँ निकास नआए पनि बैठक नरोक्ने विषयमा ओली, प्रचण्ड र नेपालबीच सहमति जुटेको थियो । स्थायी कमिटी बैठक रोकेर केन्द्रीय कमिटी बैठक बोलाउने र त्यसबीचमा सहमतिको प्रयास गर्ने नेताहरूको तयारी छ ।
शुक्रबारको बैठकमा बोल्न बाँकी स्थायी कमिटीका केही सदस्यले धारणा राख्नेछन् । तीन नेताको समझदारीअनुसार शुक्रबारको स्थायी कमिटी बैठकमा यसबीचमा भएको नेतृत्व तहको छलफलबारे ओली र प्रचण्डले बैठकलाई ‘ब्रिफिङ’ गर्नेछन् । स्थायी कमिटी बैठकअघि दुई अध्यक्षको छलफल हुने नेता सुवास नेम्वाङले बताए ।
अहिलेकै स्थायी कमिटी बैठकबाट केन्द्रीय कमिटी बैठक बोलाउन प्रधानमन्त्री ओली पनि सकारात्मक बनेपछि पार्टी विभाजन हुन नदिन केही समय लिएर स्वेच्छाले ओलीलाई दुईमध्ये एक पद रोज्नका लागि संवाद जारी राख्ने निष्कर्षमा प्रचण्ड–नेपाल समूह पुगेको छ । बालुवाटार छलफलपछि ओली समूहका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि वरिष्ठ नेता नेपाललाई संवाद जारी राखेरै कुनै न कुनै बिन्दुमा पुग्ने गरी निकास खोज्न सकिने प्रस्ताव गरेका थिए ।
पोखरेलसहितका नेताहरूले अध्यक्ष प्रचण्डसमक्ष पनि त्यस्तै प्रस्ताव राख्दै आएकाले खुमलटारमा साँझ भेला भएका प्रचण्ड–नेपाल समूहका नेताहरूले बैठक चलिरहेकै बीचमा पनि संवाद जारी राखेरै सकभर ओलीलाई एक पदमा मनाउने निष्कर्ष निकालेका छन् ।
‘उहाँहरूका (ओलीनिकट) कतिपय साथीहरू प्रधानमन्त्रीलाई कर्नरमै धकेल्ने गरी नजाऊँ, बरु समय लिएर उहाँलाई नै रोज्ने गरी समय दिऊँ भनिरहनुभएको छ, त्यो दाउपेच हो भने त सफल हुँदैन, तैपनि यदि त्यही नै हो भने केही समय दिऊँ, बीचमा सबैको विन–विन ९दुवै पक्षको जित० होस्, कारबाहीकै अनुभूति हुने गरी किन बहुमतबाट निर्णय गर्ने भन्ने निष्कर्षमा हामी पुगेका छौँ,’ प्रचण्ड–नेपाल समूहका एक नेताले भने, ‘त्यसैले सकभर समय लिएरै दुईमध्ये एक पद रोज्न दिऊँ, यसबीचमै कुरा गरेर सकभर कन्भिन्स पनि गरौँ र एउटा टुंगोमा पुगौँला, स्थायी कमिटी बैठक पनि निरन्तर चल्दै जान्छ भन्ने हो ।’ नयाँ पत्रिकाबाट











