काठमाण्डौ, २६ असार
माओवादी केन्द्रले वैशाख २३ गते एमाले–माओवादीबीच भएको ९ बुँदे सहमति र तीनबुँदे भद्र सहमति लागू गर्न प्रधानमन्त्री केपी ओलीसँग माग गर्ने निर्णय गरेको छ ।
आइतबार लाजिम्पाटस्थित पुष्पकमल दाहाल निवासमा बसेको हेडक्वार्टर बैठकले अहिलेसम्म ती सहमति कार्यान्वयन गर्ने सुरसार नदेखाएको भन्दै ओलीसँग माग गर्ने, ओलीले अग्रसरता नदेखाए विकल्प खोज्ने निर्णय गरेको हो ।
‘सहमति लागू किन भएन भन्ने बैठकमा सबैको प्रश्न रह्यो, बैठकले ती सहमति लागू गर्न माग गर्ने निर्णय गरेको छ, भर्खरै बैठक सकेर अध्यक्ष (पुष्पकमल दाहाल) र प्रकाशजी (नारायणकाजी श्रेष्ठ) बालुवाटार जानुभएको छ,’ भूसालले भनिन्, ‘अब पनि सहमति कार्यान्वयन भएन भने हामी राष्ट्रिय सहमतिको सरकारका लागि सबैखाले विकल्प खुला गर्छौं ।’
