उदय बीसी
दाङ, १५ बैशाख । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउन लमिदै जाँदा दाङका व्यवसायिक च्याउ उत्पादन गर्दै आएका किसानहरु मर्कामा परेका छन् । उनीहरुले च्याउ उत्पादनको सिजनमा अहिले च्याउको विउ पाएका छैनन् । च्याउनको विउ नपाउदा धेरै च्याउ किसानका च्याउ टनेलहरु खाली छन् ।
लकडाउनका कारण च्याउको विउ नपाउदा च्याउ नै उत्पादन गर्न नसकिएको घोराही उपमहानगरपालिका वडा नं. ६ गुरुवागाउँमा व्यवसायिक च्याउ खेती गर्दै आएका पाण्डवेश्वर च्याउ फर्मका सञ्चालक गिरिराज ज्ञवालीले बताए । ‘च्याउको लागि यो समय राम्रो सिजन हो पराल काटेर ठिक्क पारेर राखेको थिए’, उनले भने, ‘लकडाउन भयो च्याउको विउ ल्याउन सकिएन सबै टनेल खाली छन् ।’
करीव दुई वर्षदेखि गुरुवागाउँमा १३ कट्ठा जग्गा लिजमा लिएर व्यवसायिक च्याउ खेती गर्दै आएको ज्ञवालीले काठमाडौंबाट च्याउको विउ ल्याउने गर्दथ्ये । तर लकडाउनका कारण विउ आउन नसक्दा उनका च्याउ उत्पादनका लागि बनाइएका झण्डै १९ वटा टनेल खाली छन् । एउटा टनेलमा करीव २५० गोलामा च्याउ उत्पादन गर्न सकिन्छ ।
एक लटमा ३ देखि ४ लाखसम्मको च्याउ उत्पादन गर्दै आएका ज्ञवालीले महिना दिनभन्दा बढी टनेल खाली राख्नुपर्दा लाखौंको घाटा लागेको बताए । ‘व्यवसाय नै यही हो बन्द भएपछि बैंकको व्याज कसरी तिर्ने भन्ने समेत समस्या परेको छ’, उनले भने, ‘किसानको समस्या कस्ले सुनिदिन्छ र ? ।’
लकडाउनकै कारण लकडाउनको समय शुरु भएको पहिलो लटमा च्याउले बजार नपाउदा २ लाख बराबरको च्याउ त्यतिकै फाल्नुपरेको गुनासो समेत उनको छ । सामान्य परिस्थितिमा उत्पादन गरिएको च्याउ विक्रीको लागि बजारको अभाव नभएको तर अहिले विउनै नपाउदा व्यवसायिक च्याउखेती गर्दै आएका आफूजस्ता किसान ठूलो घाटामा परेको उनको भनाइ छ ।











