प्यूठान, १५ बैशाख । बन्दाबन्दी कारण प्यूठानका किसानले उत्पादन गरेको तरकारी बजारसम्म लैजान नपाउँदा खेतबारीमा कुहिन थालेको छ । कोरोना रोकथामका लागि बन्दाबन्दी लागू गरे पनि सरकारले ढुवानीको व्यवस्था नगर्दा उत्पादित तरकारी कुहिन थालेको किसनाले गुनासो गरेका छन् ।
ढुवानीको सहज व्यवस्था नहुँदा एकतिर उत्पादित तरकारी बारीमै कुहिन थालेको छ भने बजारमा तरकारीको अभाव बढ्दै गएको छ । मुलुक बन्दाबन्दी हुँदा उत्पादन भएका तरकारी विक्री गर्न नपाएको ऐरावती गाउँपालिका ४ धुवांगका किसान डुकबहादुर पुनले गुनासो गरे ।
‘बन्दाबन्दीका कारण यातायात पूर्णरूपमा बन्द छ, उत्पादित तरकारी बजारसम्म लैजान नपाउँदा लाखौंको नोक्सानी बेर्होनु पर्ने अवस्था आएको छ,’ उनले भने । नेपाल सरकारले खाद्यान्न, तरकारी तथा दूध बोक्ने गाडी चल्न दिने भने पनि प्यूठानमा भने चल्न नदिइएको किसानको भनाइ छ ।
जग्गा भाडामा लिएर तरकारी खेती गरे पनि विक्री नहुँदा बारीमै कुहिन तथा सुक्न थालेको प्यूठान नगरपालिका ८ की कृषक विपना अधिकारी गुनासो गरिन् । ‘बजार पूर्णरूपमा बन्द छ,’ उनले भनिन्,‘बन्दाबन्दीका कारण तरकारी विक्री भएको छैन जग्गाको भाडा कसरी तिर्ने हो ।’
एकातिर उपभोक्ताले तरकारी उपभोग गर्ने पाएका छैनन भने अर्कोतर्फ किसानले उत्पादन गरेको तरकारी खेतबारीमै कुहिने अवस्था सृजना भएको उनको भनाइ छ । किसानले आफूले उत्पादन गरेको तरकारी बाग्दुलामा रहेको तरकारी संकलन केन्द्रमा पठाउने गरेका थिए । तर अहिले तरकारी संकलन केन्द्र बन्द रहेको छ अभियानमा खबर छ।











