चितवन, २६ असार
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले कानुनी राजमा अपराधी उम्कन नसक्ने बताएका छन् । जुनियर प्रहरी अधिकृत शिक्षालय चितवन भरतपुरमा आज आयोजित प्रहरी सहायक निरीक्षक आधारभूत तालिम १६४ औँ समूहको दीक्षान्त समारोहमा उनले भने, “नीलो बर्दीले कमजोरी सहन सक्दैन ।“  upendra-kanta-aryal_2zXc09fcoe

सामाजिक त्रास र भ्रष्ट व्यक्तिको संरक्षक प्रहरी कहिल्यै हुँदैन भन्दै उनले समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न प्रतिबद्ध भएर लाग्न दीक्षित प्रहरीलाई निर्देशन दिए । उनले प्रहरीले समय र विकासक्रमसँगै परिमार्जित भएर अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मीले प्रहरी र अनुसन्धानले गर्ने काम फरक भए पनि मिलेर गर्नुपर्ने बताए ।

सो अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्रबहादुर शाहले दीक्षित प्रहरी सहायक निरीक्षकलाई समयसापेक्ष व्यावसायिक क्षमता अभिवृद्धि गर्दै अगाडि बढ्न निर्देशन दिए ।  विसं २०७२ साउन १७ गतेदेखि तालिम लिएका ४१ महिला सहित ५९२ जना आज दीक्षित भएका हुन् ।।