सल्यान, २४ पुस । तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको हत्यामा संलग्न अभियुक्तलाई १० वर्षदेखि जन्मकैदसम्मको फैसला सुनाइएको छ । ब्यापारी श्रेष्ठलाई दाङबाट सल्यान पु¥याई हत्या गर्ने अभियुक्तलाई तीन वर्षपछि जिल्ला अदालत सल्यानले १० वर्षदेखि जन्मकैदसम्मको फैसला सुनाएको हो ।
सल्यान अदालतका न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले सुनुवाई गर्दै आठजनालाई कारागार चलान गरिएको छ । अदालतले बाँकी तीनजनालाई भने सफाई दिएको छ ।
घटनाका मुख्य योजनाकार भनिएका टिकाराम घर्तीलाई ज्यान मार्ने उद्योगमा जन्मकैद गरिएको छ भने अपहरण मुद्दामा थप १० वर्ष कैद फैसला सुनाइएको छ ।
व्यवसायी राजकुमार श्रेष्ठलाई २०७४ साल जेठ २६ गते अपहरण गरी हत्या गरिएको थियो । अपहरण गरेको तीन दिनपछि श्रेष्ठको हत्या भएको थियो । श्रेष्ठको शव २२ दिनपछि सल्यानको छत्रेश्वरी–४ झिम्पे भञ्ज्याङमा फेला परेको थियो ।
अदालतले पूजा घर्ती, अविरल महतरा, मानबहादुर भण्डारी, मनबहादुर पुन, नारायण वली, रूगत थापा र वीरे घर्तीलाई अपहरण मुद्दामा कारागार चलान गरेको छ ।
हत्याकाण्डमा संलग्न रहेको आरोपमा पक्राउ परेका भूपेन्द्र भण्डारी, खुमबहादुर केसी र जमा पुनलाई भने अदालतले सफाई दिएको छ । दाङ प्रहरीले घटनाका मुख्य योजनाकारसहित १४ जना संलग्न भएको भने पनि ११ जनामात्र पक्राउ परेका छन् । फरार रहेका अन्य तीनजना भने प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन आजको प्रदेश टुडेमा खबर छ।











