इन्द्रेणी संवाददाता
काठमाण्डौ, २४ असार
पछिल्लो तीन महिनाको अवधिमा चट्याङबाट ६२ जनाको मृत्यु भएको पाइएको छ । आजको संसद बैठकमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले हालसम्म १४ वटा चट्याङका घटनामा ६२ जनाको मृत्यु भएको जानकारी दिनुभएको छ ।
घटनामा परी १४० जना घाइते भएको पनि उहाँले बताउनुभयो । चट्याङ लागेर ३ घर पूर्ण र ७ घरमा आंशिक क्षति पुगेको बस्नेतले जानकारी दिनुभयो । यसैगरी दुई महिनाको अवधिमा बाढी पहिरोमा परेर ४७ जनाको मृत्यु भएको छ ।
संसद बैठकमा गृहमन्त्री बस्नेतले जेठ १ देखि असार २३ गतेसम्म आएको बाढी पहिरोको ११२ घटनामा ४७ जनाको मृत्यु भएको जानकारी दिनुभयो । बाढी पहिरोमा परेर अरु १६ जना अझै हराइरहेको र ५७ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।
१ सय ३८ घर पूर्ण रुपमा क्षतिग्रस्त भएको तथा १६० घरमा आंशिक क्षति पुगेको तथ्यांक गृह मन्त्रालयले दिएको छ ।।