काठमाडौं, २६ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा नेपालको सीमा अतिक्रमण भएको विषयमा भारतसँग वार्ताको तयारी गरिरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले सीमा अतिक्रमणबारे औपचारिक वार्ता अघि बढाउन सरकारले आवश्यक गृहकार्य गरिरहेको नेकपाको सचिवालय बैठकमा सोमबार जानकारी गराएका हुन् ।
सचिवालय बैठकमा भारतसँगको सीमा विवादबारे सरकारले गरिरहेको गृहकार्यबारे प्रधानमन्त्रीले ‘ब्रिफिङ’ गरेका थिए । ‘प्रधानमन्त्रीज्यूले दुई देशको वार्तामा सरकारले लैजाने प्रस्तावको गृहकार्य भइरहेको जानकारी गराउनुभएको छ,’ सचिवालय बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ उद्धृत गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘आधिकारिक प्रमाणसहितको दस्ताबेज संकलनसँगै उचित कूटनीतिक संयन्त्रमा छलफल अघि बढाएर भारतसँग वार्ता गरिनेछ ।’
यसअघि प्रधानमन्त्रीले सरकारीनिवास बालुवाटारमा शनिबार सर्वपक्षीय बैठक डाकेर सीमा अतिक्रमणबारे छलफल गरेका थिए नयाँ पत्रिकामा खबर छ। सर्वपक्षीय बैठकमा पनि प्रधानमन्त्री ओलीले राष्ट्रिय भावनाका आधारमा भारतसँग कूटनीतिक संवाद थाल्ने बताएका थिए । अघिल्लो साता भारतले सुदूरपश्चिमको सीमान्त भूमि कालापानीलाई गाभेर नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालमा त्यसको विरोध हुँदै आएको छ ।











