काठमाडौँ, १८ कार्तिक । आगामी मङ्सिर १४ गते हुने स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ताको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

election-in-nepalआयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य उपनिर्वाचन र स्थानीय तह उपनिर्वाचन निर्देशिका, २०७६ तयारी गरी उपनिर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको योग्यतामा पनि कडाइ गरेको जनाएको छ । सो दिन प्रतिनिधि सभा सदस्य–एक, प्रदेश सभा सदस्य–तीन, स्थानीय तहतर्फ प्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षसमेत ४८ गरी जम्मा ५२ पदमा उपनिर्वाचन हुँदैछ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार चार स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् र २१ गते प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको उम्मेदवारी दर्ताका लागि सबै तयारी पूरा भएको बताउनुभयो । कास्की, भक्तपुर, बाग्लुङ र दाङमा ती कार्यालय स्थापना भएका हुन् ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले उम्मेदवारी दर्ताका लागि सबै तयारी पूरा भएकाले कात्तिक २१ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य र कात्तिक २७ गते स्थानीय तहका लागि उम्मेदवारी दर्ता हुने बताए ।

आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य उपनिर्वाचन निर्देशिका र स्थानीय तह उपनिर्वाचन निर्देशिका तयार गरी लागू गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेश सभा सदस्य निर्वाचनको हकमा सम्बन्धित प्रदेशको कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने छ । नेपालको नागरिक भई मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने आजको गोरखापत्रमा खबर छ ।