काठमाडौं, २६ असोज । चीनले केरुङबाट काठमाडौं जोड्ने सडक निर्माणलाई उच्च प्राथमिकता दिएको छ । करिब २४ किलोमिटर लम्बाइ समेट्ने दुई सुरुङ बनाएर सडक स्तरोन्नति गर्न चीनले नेपाललाई सघाउने भएको छ । त्यस्तै, सडकसँगै रेलमार्ग निर्माणमा पनि सघाउने वचन चिनियाँ राष्ट्रपति सी जिनपिङले दिएका छन् ।

xi-jinpingकाठमाडौंको टोखाबाट नुवाकोटको छहरेसम्म एउटा सुरुङमार्ग खोल्ने नेपालको प्रस्तावमा आइतबार सहमति हुँदै छ । सडक विभागका अनुसार टोखा–छहरे सुरुङमार्ग करिब चार किलोमिटर लामो हुनेछ । त्यस्तै, रसुवाको बेत्रावतीबाट स्याफ्रुबेँसी जोड्ने अर्को सुरुङमार्ग पनि चिनियाँ सहयोगमा निर्माण हुनेछ ।

२० किलोमिटर लामो यो सुरुङमार्ग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्राथमिकतामा छ । समझदारीपत्रमा हस्ताक्षर भएसँगै सुरुङमार्गको अध्ययन सुरु हुनेछ । आइतबार उच्चस्तरीय वार्तामा यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा। राजन भट्टराईले जानकारी दिए ।

चिनियाँ राष्ट्रपति सीले केरुङ–काठमाडौं रेलमार्ग निर्माणमा सहयोग गर्ने वचन दिएका छन् । राष्ट्रपति विद्या भण्डारीसँग राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटवार्तामा सीले केरुङ हुँदै काठमाडौं जोड्ने रेलमार्ग निर्माण चुनौतीपूर्ण भए पनि चीनले सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

‘नेपालको सीमासम्म रेल्वे विस्तारमा भौगोलिक कठिनाइ भए पनि हामीसँग संसारभरको अनुभव छ, हाम्रा ९चिनियाँ० प्राविधिक अनुभवी छन्,’ राष्ट्रपति सीको भनाइ उद्धृत गर्दै राष्ट्रपति कार्यालयका एक अधिकारीले भने, ‘महामहिमले विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) र रेल्वे निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।’

त्यस्तै, राष्ट्रपति सीले तीन वर्षमा आउने गरी नेपाललाई ५६ अर्ब रुपैयाँ आर्थिक सहयोग घोषणा गरेका छन् । राष्ट्रपति भण्डारीसँग द्विपक्षीय वार्ताका क्रममा उनले सहयोग घोषणा गरेका हुन् । भण्डारी र सीबीच साँझ ६।४० बाट करिब एक घन्टा भेटवार्ता भएको थियो । भेटर्वार्तामा भ्रमण टोलीमा संलग्न चिनियाँ अधिकारी र नेपालका तर्फबाट राष्ट्रपति कार्यालयका अधिकारी सहभागी थिए ।

चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमणको दोस्रो दिन आइतबार नेपाल र चीनबीच उच्चस्तरीय औपचारिक वार्ता हुँदै छ । नेपालबाट प्रधानमन्त्री केपी ओली र चीनबाट राष्ट्रपति सीले नेतृत्व गर्ने प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्तामा नेपालले उच्च तहको राजनीतिक सद्भाव वृद्धिसहित कनेक्टिभिटीलाई मुख्य विषय बनाउँदै छ । नयाँ पत्रिकाबाट