काठमाडौं, ७ असोज । नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच सैद्धान्तिक–वैचारिक विषयमा केन्द्रित विचारधारात्मक अन्तक्र्रिया सुरु भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने निश्चित भएलगत्तै दुई कम्युनिस्ट पार्टीले सोमबारबाट दुई दिने अन्तक्र्रिया चलाएका हुन् । यसलाई राष्ट्रपति सीको आसन्न भ्रमणको गृहकार्यकै एक हिस्सा मानिएको छ ।
होटेल याक एन्ड यतीमा भइरहेको अन्तक्र्रियामा चीनले अघि बढाएको सी विचारधारा र यसले हासिल गरिरहेको उपलब्धि तथा नेकपाले अपनाइरहेको जनताको जनवादको कार्यदिशामा केन्द्रित रहेर दुई पार्टीका नेताहरूले वैचारिक अनुभव साटिरहेका छन् । अन्तक्र्रियाको शीर्षक ‘सी जिनपिङ विचारधाराबारे चिनियाँ कम्युनिस्ट पार्टीको धारणा तथा नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच विचारधारात्मक छलफल कार्यक्रम’ छ ।
उद्घाटन सत्रमा नेकपाका नेताहरूले चिनियाँ मोडलको सी विचारधारा विश्वकै लागि समाजवाद निर्माणको मोडल बन्दै गएको भन्दै प्रशंसा मात्र गरेनन्, नेपालले समेत यसबाट शिक्षा लिएर अघि बढ्न सक्ने पनि उनीहरूले बताए । चिनियाँ नेताहरूले पनि दुवै देशको समाजवाद निर्माणको कार्यदिशा आ–आफ्नै विशेषतामा आधारित भए पनि राजनीतिक–वैचारिक क्षेत्र र विकासका सन्दर्भमा सहयोग आदान–प्रदान गर्नुपर्ने आवश्यकता औँल्याए ।
मंगलबार दुई देशका कम्युनिस्ट पार्टीबीच एक समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम पनि छ । ‘समझदारीपत्रमा हस्ताक्षरसँगै दुई पार्टीबीच भ्रातृत्वको औपचारिक सम्बन्ध स्थापित हुनेछ,’ नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले भने । नयाँ पत्रिकाबाट











