सल्यान, २६ भदौ। सल्यानका विभिन्न स्थानमा निर्माण गरिएका कृषि उपज संकलन केन्द्र प्रयोगविहीन बन्दै गएका छन् । किसानहरूले बारीबाटै सीधै व्यापारीलाई तरकारी विक्री गर्न थालेपछि निर्माण गरिएका भौतिक संरचना अलपत्र पर्न थालेको बन्गाड कुपिन्डे नगरपालिकाका कृषक तुंगबहादुर बुढाले बताए । ग्रामीण कृषि सडक निर्माण भएपछि व्यापारीहरू कृषकको बारीमा नै तरकारी संकलनका लागि आउने गरेका छन् ।

bbउनले निर्माण गरिएका संकलन केन्द्र प्रयोगमा नआउँदा पशुचौपायाको ओत लाग्ने र बालबालिका खेल्ने स्थलको रूपमा परिणत भएको बताए । कृषकले उत्पादन गरेका तरकारीलाई सहजै बजारको पहुँच सम्म पुर्‍याउने उद्देश्यले केन्द्र निर्माण गरिएको हो । ‘बन्गाड कुपिन्डे नगरपालिकाको सल्लीबजारमा निर्माण गरिएको कृषि संकलन केन्द्र निर्माण भएको एक वर्ष नवित्दै प्रयोगविहीन बनेको छ,’ बुढाले भने, ‘संकलन केन्द्र सञ्चालनका लागि प्रयास गरे पनि पर्याप्त मात्रामा कृषिजन्य वस्तुको उत्पादन नहुँदा प्रयोगविहीन भएको हो ।’

२० वर्षअघि शारदा नगरपालिका–८, मार्के नाउलामा बनाएको कृषि संकलन केन्द्रको अवशेष मात्र रहेको स्थानीय जुद्धबहादुर बुढाथोकीले बताए । उनका अनुसार गाउँ नजीकै निर्माण गरिएको अर्को पक्की टहरो पनि बेवारिसे अवस्थामा पुगेको छ । ‘सरकारी रकम लगानी भएकाले त्यसलाई अन्य रूपमा सार्वजनिक स्थल बनाई प्रयोग गर्न सकिन्थ्यो, तर सबैतिरबाट बेवास्ता हुँदा सरकारी रकमको दुरुपयोग भएको छ,’ उनले भने ।

यस्तै, बन्गाड कुपिन्डे नगरपालिका–११, ढोरपिपलमा २०७४ सालमा रू। ६ लाखको लागतमा निर्माण भएको कृषि संकलन केन्द्र स्थानीयलाई सामग्री राख्ने स्थलमा परिणत भएको छ । संकलन केन्द्र निर्माण भएको ५र६ महीना सञ्चालनमा आए पनि अहिले प्रयोगविहीन रहेको स्थानीय अमर परियारले बताए ।
तरकारी संकलन केन्द्र बन्छ भनेर आफूले जग्गादान गरेको तर अहिले जग्गा खेर गएको महसूस भएको उनको भनाइ छ ।

अहिले जिल्लामा निर्माण गरिएका अधिकांश कृषि संकलन केन्द्र प्रयोगविहीन हुँदा राज्यको करोडौं लगानी खेर गएको छ अभियानमा खबर छ। कपुरकोट गाउँपालिका र त्रिवेणी गाउँपालिकामा निर्माण गरिएका कृषि संकलन केन्द्रहरू मात्र प्रयोगमा आउन सकेको कृषि ज्ञान केन्द्र, सम्पर्क कार्यालय सल्यानले जानकारी दिएको छ । जिल्लाको कालिमाटी, सल्लीबजार, श्रीनगर, मार्के, बागचौर, ढोरपिपल लगायतका स्थानमा निर्माण गरिएका दर्जनभन्दा बढी कृषि संकलन केन्द्र प्रयोगविहीन भएका छन् ।