इन्द्रेणी संवाददाता
दाङ, १९ भदौ । दाङको घोराही उपमहानगरपालिकाले एक वडा एक जलाशय निर्माण अभियानअन्तर्गत कृत्रिम जलाशयमा ४ करोड २५ लाख ३२ हजार ४ सय ७३ रुपैयाँ लगानी गरेको छ ।
उपमहानगरपालिकाका विभिन्न ८ वटा वडामा निर्माण भएका ११ वटा जलाशयमा सो लगानी भएको छ । सबैभन्दा बढी उपमहानगरपालिका वडा नं. १ र २ मा पर्ने रामपुरको चेपे जलाशयमा ९९ लाख ९८ हजार ९ सय २२ रुपैयाँ लगानी भएको छ । त्यस्तै वडा नम्बर १७ मा रहेका दुई वटा कृत्रिम जलाशयमा रु. ९६ लाख ३१ हजार ५ सय ७८ रुपैयाँ, वडा नम्बर १८ का दुई जलाशयमा २६ लाख ८१ हजार ४ सय १६ रुपैयाँ लगानी भएको छ ।
त्यसैगरी वडा नम्बर १० मा रहेको डाँडागाउँ जलाशयमा ३५ लाख ४२ हजार ८ सय २ रुपैयाँ, वडा नम्बर १२ को जगखोली जलाशयमा ५४ लाख १७ हजार ३ सय ४३ रुपैयाँ, वडा नम्बर २ को वलरामपुर जलाशयमा ४ लाख १९ हजार ४ सय ५६, वडा नम्बर १६ को गंगटे जलाशयमा ४२ लाख ४१ हजार ३ सय ८ र वडा नम्बर ६ लखवार जलाशयमा २८ लाख २८ हजार ६ सय ४३ रुपैयाँ लगानी भएको छ । यी जलाशयमा जम्मा भएको पानीबाट स्थानीयले सिंचाइ सुविधा पाएका छन् ।
जलाशयले स्थानीयलाई सिंचाइ सुविधा दिनुका साथै दाङलाई निकट भविश्यमा खानेपानीका स्रोतहरु संरक्षण तथा पर्यावरणका लागि पनि सहयोग गर्ने उपमहानगरपालिकाले जनाएको छ ।











