रितु खनाल
हेर्छे जून चरी उता नभतिरै आभा पिई हाँस्तछे
तिर्खा मेट्न छ चाहना तर कठै ! पानीबिना बाँच्तछे
त्यस्तै मात्र छु साेच्न बाध्य अहिले इच्छा हुँदैछन् कडा
रित्ताे जीवन लाग्छ हाेे बगरझैं पानी बिनाकाे घडा ( १)
भन्थ्याै जून तिमी र फेरि कहिले ठान्थ्याै मलाई जुही
निभ्ला जून चिसाे बढी गगनमा याे फूल जाला कुही
मेराे जाेवन उर्लंदै छ अहिले सङ्लाे भँगालाेसरि
आऊ वेग सँगालिद्यौ प्रिय सखे ! न्यानाे अँगालाेभरि ( २)
प्यारा प्राण ! बतासिई क्षितिजमा छाऊ बनी बादल
ओढी प्रेमिल वासना हृदयकाे घन्काउँला मादल
आँखा भन्दछ प्रेमको रस नयाँ पाएर थाकोस् मन
आई भित्र बिचार ! प्रेमवयमा गर्द्यौ मीठो चुम्बन (३)
याे मेराे तन नै अतालिन पुग्याे खै के भयाे के भयाे ?
टेकेकाे पथ भासिंदै गइदियाे हाँसाे बिरानाे भयाे
जाेडिन्छन् नव तार बल्छ बिजुली चस्कन्छ छाती कतै
कुस्ती खेल्दछ नागले पर कहीं झस्कन्छ मायाँ कठै ! (४)
हानी वेग रकेटझैं प्रिय तिमी आऊ सुनामी बनी
जाेडी हाैं न छिटाे मुनामदनझैं भन्दै छ याे लेखनी
सासैले चिमटेर फूल अडिने चुल्ठी समाऊ तिमी
आफै जानिफकार छाै अब अरू सम्झाउने के भनी (५)











