काठमाडौं, ६ भदौ । ३ असोजमा आयोजना हुने राष्ट्रिय दिवसमा प्रमुख अतिथिका रूपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्त्याइएको छ । संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवसका रूपमा भव्य बनाउने सरकारको तयारी छ ।

oli-modiभारतीय विदेशमन्त्री एस जयशंकरसँग बुधबार बालुवाटारमा भएको करिब एक घन्टा लामो एकान्त वार्तामा प्रधानमन्त्री ओलीले मोदीलाई राष्ट्रिय दिवसको प्रमुख अतिथि बनाउने प्रस्ताव गरेका थिए । जयशंकरले नेपाली प्रधानमन्त्रीको निम्ता भारतीय प्रधानमन्त्रीसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । यो विषयमा भारतका तर्फबाट छिटै औपचारिक जानकारी आउने अपेक्षा गरिएको परराष्ट्र स्रोतले जनाएको छ ।

ओलीले राष्ट्रिय दिवसमा मोदीको आगमन भए नेपाल र भारतबीच बाँकी रहेका तिक्तता एकैसाथ समाधान हुने र विश्वासका नयाँ आधारमा सम्बन्ध अघि बढ्ने सन्देश पठाएका छन् । ‘मोदीले लुम्बिनी भ्रमणमा आउने इच्छा व्यक्त गरिरहनुभएको छ । राष्ट्रिय दिवसमा सहभागी हुने र लुम्बिनी भ्रमण गर्ने चाँजोपाँजो मिल्न सक्छ,’ कूटनीतिक स्रोतले भन्यो ।

चार वर्षअघि संविधान जारी गर्ने कार्यक्रम स्थगित गर्न मोदीको सन्देश बोकेर जयशंकर काठमाडौं आएका थिए । संयोगले संविधान दिवसको प्रमुख अतिथि बन्न मोदीलाई नेपालको निम्तो उनैले लगेका छन् ।

प्रधानमन्त्री ओलीसँगको भेटपछि जयशंकर परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी भएका थिए । बैठक सकिएलगत्तै बुधबार राति परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आयोजना गरेको रात्रिभोजमा जयशंकरले अघिल्लो कार्यकालमा मोदीले चारपटक नेपाल भ्रमण गरेको दृष्टान्त दिँदै मोदीको सद्भाव मनन गर्न आग्रह गरेका थिए । नयाँ पत्रिकाबाट