रुकुम, २३ असार
राप्ती राजमार्ग अन्तर्गत सल्यान–मुसिकोट–रुकुम सडकखण्डका चार स्थानमा पुल नबन्दा वर्षायाममा यात्रुले सास्ती बेहोर्नु परेको छ । दाङको तुलसीपुरबाट सल्यान हुँदै रुकुमसम्मको उक्त राजमार्गमा ठूला खोलामा समयमै निर्माण हुनु पर्ने पुल नबन्दा गाडी बाटोमै अलपत्र पर्न थालेका छन् । index

तीन वर्ष अगाडि टेण्डर भएर काम सुरु भएका पुल यो वर्ष पनि निर्माण नहुँदा यात्रुलाई सास्ती भएको हो । झण्डै एक सय ६० किलोमिटर लामो सडकखण्ड कालोपत्रे भएको चार वर्ष बितिसक्दा पनि पुल तयार नहुँला यात्रुलाई समस्या भएको छ । सरकारी प्रक्रियाका कारण ढिला गरी टेण्डर भएका सल्यानको अरिगाले फेदी, चाख्लीघाट र थारमारे खोलामा निर्माण हुनु पर्ने पुल समयमै नबनेका हुन् ।

सडक डिभिजन कार्यालय रुकुम चौरजहारीको कार्यक्षेत्रमा पर्ने ति पुलमा झण्डै पाँच करोड रुपैयाँ बराबरको खर्च भएको छ । सुर्खेतको डि लाइट एचविएच ठेकेदार कम्पनीले निर्माणको जिम्मा लिए पनि समयमै काम सुरु नगर्दा पुल नबनेको हो । सुरुमा पुल महाशाखाबाट टेण्डर गरी काम सुरु गरिएपनि पछि सडक डिभिजन कार्यालय चौरजहारीको जिम्मामा पुल आएका छन् ।

अहिले सम्झौता अनुसार कामलाई तीब्रता दिएको सडक डिभिजन कार्यालय चौरजहारीका लेखा अधिकृत नविनकुमार खड्काले जानकारी दिनुभयो । अहिले २५ मिटर लम्बाइको थारमारे पुलमा सबैभन्दा बढी गाडी र यात्रुले सास्ती झेल्नु परेको छ । विभिन्न स्थानबाट रुकुमका लागि छुटेका यात्रुबाहक तथा मालवाहक गाडी यहाँ फस्ने गरेका छन् ।।