लम्की, ३ साउन । विसं २०५७ मा मुक्त भएका छ सय ४७ मुक्त कमैयाको अझै पुनःस्थापना हुन बाँकी छन् ।
कमैया मुक्ति घोषणापश्चात कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङ जिल्लाका २७ हजार ५०५ मुक्त कमैया मुक्त घोषणा भएका थिए । तीमध्ये २६ हजार ८५८ कमैया पुनःस्थापना भएका छन् ।
छ सय ४७ मुक्त कमैयाको पुनःस्थापना हुन नसकेको मुक्त कमैया बड्घर सञ्जाल टीकापुरका अध्यक्ष रामफल चौधरीले बताए । चौधरीका अनुसार कैलालीमा आठ हजार ९१० मध्ये आठ हजार ५३० कमैयाको पुनःस्थापना भएको छ । अझै ३८० को पुनःस्थापना हुन बाँकी छ ।
कमैया मु्क्ति दिवसको अवसरमा बिहीबार टीकापुरमा भएको कार्यक्रममा चौधरीले कमैयाका थुप्रै खाले समस्या रहेकाले स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताए । “धेरै कमैया मुक्तिपछि पनि ज्याला, मजदुरी गर्छन् । ज्यालामा पनि हामी ठगिने गरेका छौँ”, चौधरी भने, “स्थानीय सरकारले ज्यालाजस्ता कुराहरु तोकिदिनुपर्छ ।” उन अधिकांश मुक्त कमैया रोजगारीका लागि भारत जान थालेको बताउँदै स्वदेशमै रोजगारीको वातावरण सिर्जना गरिनुपर्ने माग गरे ।
मुक्त कमैया बलराम चौधरीले मुक्त कमैया घोषणा भएको धेरै लामो समय बितिसक्दा पनि यसको समस्या समाधान पूर्णरूपमा नभएको बताए ।
“यो समस्या समाधानका लागि प्रदेश सरकारले नीति र योजना बनाएरै काम गर्नुपर्छ”, बलरामले भने, “कमैयाको बस्ती रहेका ठाउँमा विद्यालय, खानेपानीजस्ता पूर्वाधार अझै बनेका छैनन् ।”
कमैयाका छोराछोरीलाई प्राविधिक शिक्षाजस्ता कुरामा सरकारले छात्रवृत्तिको व्यवस्था नगरेसम्म शिक्षामा पहुँच वृद्धि हुन कठिन छ । अधिकांश मुक्त कमैयाले मुक्त भए पनि रोजगारीजस्ता अवसर नपाउँदा कमैयाका छोराछोरीले बीचमै विद्यालय छाडेर कमाउनका लागि भारत जानुपर्ने बाध्यता छ । रासस











