इन्द्रेणी संवाददाता
नारायणपुर, २४ चैत
हिन्दु जागरण नेपाल त्रिपुरको आयोजनामा नारायणपुरमा सञ्चालित महायज्ञ सम्पन्न भएको छ । नारायणपुरमा सुर्यनारायण मन्दिर, धर्मशाला निर्माण एवं हिन्दुत्व संरक्षण गर्ने उद्धेश्यका साथ आयोजना गरिएको श्रीमद् भागवत ज्ञानमहायज्ञ तथा धनधान्याञ्चल अनुष्ठान २०७२’ को समापन गरिएको छ । महायज्ञको एक औपचारिक कार्यक्रमको आयोजना गरि समापन गरिएको हो । महायज्ञ आयोजक मूल समितिका संयोजक टेकबहादुर खड्काको अध्यक्षता एवं महायज्ञका मुख्य वाचक एवं हिन्दु जागरण नेपालका केन्द्रिय अध्यक्ष रामकृष्ण उपाध्यायको प्रमुख आतिथ्य र हिन्दु जागरण नेपाल दाङका अध्यक्ष यमबहादुर भण्डारीको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले महायज्ञ सफल भएको भन्दै सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका थिए ।
साथै उनीहरुले जुन उद्धेश्यले महायज्ञको आयोजना गरिएको हो त्यो उद्धेश्य पुरा गर्नकालागी सहयोग गर्न सम्पूर्णमा अनुरोध पनि गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपाध्यायले धर्म परिवर्तन अहिले नेपालको प्रमुख समस्या बनेको भन्दै सचेत रहन सम्पूर्णमा अनुरोध गर्नुभयो । उहाँले गरिबी र बेरोजगारीको फाईदा उठाउदै विभिन्न आश्वासन देखाएर धर्म परिवर्तन गराउने चलनको अन्त्य हुनुपर्ने बताउनुभयो ।
महायज्ञमा हालसम्म त्रिपुर नगरपालिका ७ डाडागाँउका दामोदर न्यौपाने र उहाँको श्रीमति उमादेवी न्यौपानेले सबैभन्दा धेरै ३५ लाख रुपैया बराबरको जग्गा दान गर्नुभएको छ । महायज्ञमा करिब १ सय क्वीन्टल अन्न पनि संकलन भएको छ । त्रिपुर क्षेत्रका किसानहरुले अन्नदान गरेका हुन् । विभिन्न स्थालबाट गरि १ सय क्वीटन अन्न संकलन भएका छ । महायज्ञमा करिब ८० लाख आर्थिक संकलन भएको छ ।।