काठमाडौं, १२ जेठ । ४९ लाख २९ हजार भ्रष्टाचार अभियोगमा नेपाली सेनाका कर्नेल (प्रमुख सेनानी) केशवराज कार्की जागिरबाट बर्खास्तीमा परेर जेलसमेत चलान भएका छन् ।
उदयपुरस्थित कालिसिद्धि गणका गणपति कार्कीलाई सैनिक अदालतले भ्रष्टाचारी ठहर गरेपछि बर्खास्तीसँगै जेल चलान भएका हुन् । उनी कैद भुक्तानीका लागि शुक्रबार जगन्नाथ देवल जेल चलान भएका छन् ।
राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत ताल संरक्षणमा भएको भ्रष्टाचारलगायत अन्य आर्थिक हिनामिनामा सैनिक अदालतले गरेको फैसला प्रधानसेनापति पूर्णचन्द्र थापाले ५ जेठमा सदर गरेका थिए ।
प्रधानसेनापतिको कार्यालयले सजायसम्बन्धी फैसला बिहीबार सुनाएको थियो । सेवाबाट बर्खास्त उनी २२ साउनसम्म जेल बस्नुपर्नेछ नयाँ पत्रिकामा खबर छ। प्रधानसेनापति थापाको कार्यकालमा यति ठूलो रकम भ्रष्टाचार भएको र आरोपीले जागिरबाट बर्खास्तीको सजाय पाएको यो पहिलो घटना हो । कर्नेल कार्कीविरुद्ध गत फागुनमा सेनाको सिकायत जाँचबुझ निर्देशनालयमा उजुरी परेपछि छानबिन सुरु भएको थियो ।











