तुलसीपुर, १७ वैशाख । तुलसीपुरमा रहेको मालपोत कार्यालयमा पछिल्लो समय भएको समस्याप्रति नगर प्रमुख घनश्याम पाण्डेले चासो लिएका छन् ।
कार्यालयले वैशाख ४ गतेदेखि अनलाइन मार्फत सेवा सुरु गरेपछि देखिएको समस्या समाधानका लागि नगर प्रमुख पाण्डेले चासो लिएका हुन् । मालपोत कार्यालय तुलसीपुरका प्रमुख नरेश खड्काले सेवाग्राहीको चाप अनुसार कार्यालयमा जनशक्ति र उपकरण नहुँदा काम गर्न कठिनाइ भएको वताएका थिए । उनले दैनिक १ सय लिखत आउने गरेकोमा वढिमा ३० वटा लिखत मात्रै पास हुने गरेको वताए ।
‘जनताको चाप अनुसारको प्राविधिक व्यवस्थापन नहुँदा धेरै समस्या उत्पन्न भएको छ ’ कार्यालय प्रमुख खड्काले वताए । उनले दरवन्दी अनुसार कर्मचारी नहुँदा पनि समस्या रहेको जानकारी दिए ।
नगर प्रमुख पाण्डेले जनताले सर्वसुलभ रुपमा सेवा पाउनुपर्ने वताउँदै प्राविधिक समस्या समाधानका लागि उपमहानगरपालिकाले सहयोग गर्ने वताए । उनले तिव्रगतिको इन्टरनेट सेवा सञ्चालन र थप कम्प्युटर लगायतका उपकरणका लागि उपमहानगरपालिकाले सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका थिए । ‘उपमहानगरपालिकाबाटै आइटि विज्ञको व्यवस्था गरेर हामी समाधान गर्नेछौ’ नगरप्रमुख पाण्डेले भने











