इन्द्रेणी संवाददाता
दाङ, ८ चैत । दाङका विभिन्न स्थानमा आगलागी हुँदा झण्डै ३७ लाखको धनमाल जलेर क्षेति भएको छ । चैत ७ र ८ गते जिल्लाका विभिन्न सात स्थानमा आगलागी हुँदा ३६ लाख ९९ हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार चैत ७ गते राजपुर गाउँपालिका वडा नं. १ बरुवानाका बस्ने बाबुराम सुनारको फुसले छाएको घर गोठमा आगलागी हुँदा ३ लाख बराबरको क्षति भएको छ । त्यस्तै सोही ठाउँका लोकबहादुर सुनारको घर गोठमा आगलागी हुँदा २ लाख ५० हजार बराबरको क्षति भएको छ ।
त्यसैगरी सोही दिन बङगलाचुली गाउँपालिका वडा नं. ४ गहतेरा बस्ने गहतेरा बस्ने गोकर्ण डाँगीको फुसले छाएको गोठ गोठमा आगलागी हुँदा ३ वटा गोरू ३ वटा भैसी जली मरेको र सात लाख बराबरको क्षति भएको छ । सोही ठाउँका धनेश्वर डाँगीको फुसले छाएको कच्ची घर,लत्ता कपडा,अन्नपात जली नष्ट भएको र करीव ४ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
त्यस्तै बंलाचुली गाउँपालिका ७ घडिचौर बस्ने दिनबहादुर गमालको घर र गोठमा बच्चाले लाईटर खेलाउने क्रममा अचानक आगलागी हुँदा ७ लाख ५० हजार बराबरको क्षति भएको छ ।
त्यसैगरी चैत ८ गते घोराही उप(महानगरपालिका ७ बेसाइवेलडाँडा स्थित जितेन्द्र थापाको कुखुरा फर्ममा अचानक बिद्यूतको तार सर्ट भई आगलागी हुँदा ११ लाख ४९ हजारको क्षति भएको छ । आगलागीमा परी एक हजार ५० वढी कुखुरा जलेका छन् ।
त्यस्तै तुलसीपुर उप(महानगरपालिका १४ असमी बस्ने पर्समान गिरीको १ तले फुसको छानो भएको घरमा अचानक आगलागी हुँदा घर पुर्ण रुपमा जली नस्ट भएको र घरमा रहेका ४ वटा बाख्रा जलेर मृत्यू भएको, भाँडावर्तन, अन्नपात, लत्ताकपडा जलेका छन् । करीव एक लाख ५० हजार बराबरको क्षति भएको छ ।











