काठमाडौं, २३ माघ। गरिबी निवारण कोषमा परामर्शदाता छनोट गर्नेदेखि विभिन्न परियोजना र कार्यक्रम छनोटको नाममा करोडौं रुपैयाँ घोटाला भएको पाइएको छ ।

garibiप्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार गरिबी निवारण कोषका पदाधिकारी तथा कर्मचारीहरूको मिलेमतोमा कोषका लागि खरिद गरिएका विभिन्न जिन्सी सामानमा ४ करोड रुपैयाँभन्दा बढी अनियमितता भएको पाइएको छ ।

पदाधिकारी तथा कर्मचारीका लागि खरिद गरिएका महँगा गाडी, कम्प्युटर, विभिन्न कार्यालयका सामग्री, कुर्सी, टेबल, पर्दासमेत गायब पारिएको छ ।

यसैगरी, करोडौं रुपैयाँ खर्चेर खरिद गरेका ल्यापटप, महँगा क्यालकुलेटर, माइक्रोटेल फोन सेट, सिलिङ प्यान, वाल फेन, स्पिकर, नेटवर्क स्विचलगायतका सामान गायब पारिएको आजको राजधानीमा खबर छ । गरिबी निवारण कोषको प्रशासनिक निकायले पनि ती सामान कहाँ छन् भन्नेबारे केही जानकारी दिन सकेको छैन ।

कोष प्रशासनका अनुसार आर्थिक वर्ष २०६०÷६१ देखि हालसम्म कोषका लागि करोडौं रुपैयाँ खर्चेर २ हजार ४३१ वटा जिन्सी सामान खरिद गरिएको थियो । तर, ती सामानमध्ये १ हजार १५ प्रकृतिका सामानको लामो समयदेखि अत्तोपत्तो छैन । कोष प्रशासनका अनुसार विभिन्न समयमा पदाधिकारी तथा कार्यालयका कर्मचारीले लिएर गएका लाखौं मूल्यका सामान फिर्ता नगरी बेपत्ता पारेका हुन् ।

कोषमा करोडौं रुपैयाँ अनियमितता भएको पाइएपछि केही समयअघि मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राष्ट्रिय सतर्कता केन्द्रलाई छानबिनको जिम्मेवारी दिएको थियो । तीन सदस्यीय सो छानबिन टोलीले विस्तृत अनुसन्धानसहितको प्रतिवेदन केही दिनअघि मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएको छ ।