इन्द्रेणी संवाददाता
दाङ, १९ माघ । सभामुख कृष्णबहादुर महराले दाङको खानेपानी र सिंचाइ समस्यालाई हल गर्नका लागि रोल्पाको माडी नदी डाइभर्सन गर्न आवश्यक रहेको बताएका छन् ।
घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको १९ औं साधारणसभा एवं सातौं अधिवेशनको आज दाङको घोराहीमा उद्घाटन गर्दै महराले माडी डाइभर्सनलाई गुरुयोजनाको रुपमा अघि बढाउने बताए । ‘५ नम्बर प्रदेशका मुख्य मन्त्री, वर्षमान पुन र मैले छलफल पनि गरेका छौं, यसलाई सिंचाइ मन्त्रालयअन्तर्गतको गुरुयोजनाकै रुपमा शुरु हुन्छ’, उनले भने ।
माडी डाइभर्सनको चर्चा यसअघि पनि भएको भन्दै महराले यसलाई योजनाको रुपमा अघि बढाउन सर्भेलगायतका काम हुने बताए । उनले यसको बारेमा अन्तिम टुंगो लागेमा पत्रकार सम्मेलनको आयोजना गरेर समेत जानकारी गराउने बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेको सभामुख महराले घोराही खानेपानी यहाँको सफल संस्था भएको उल्लेख गर्दै यो संस्था जनताको सेवासँग प्रत्येक्ष जोडिएको संस्था भएकाले संस्था राजनीतिभन्दा माथि उठेर काम गर्नुपर्ने बताए । उनले यसै प्रकारले जनताको सेवा गर्ने लक्ष्यका साथ आगामी कार्यसमिति चयन गर्न पनि सुभाव दिए । उनले दाङको खानेपानी, सिंचाइ लगायतका समस्या समाधान गर्न आफूले सधै पहलकदमी लिने समेत प्रतिवद्धता जनाए ।
संस्थाका अध्यक्ष देवीबहादुर डिसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं. ५ का संसद अमरबहादुर डाँगीले दाङ जिल्लामा खानेपानी समस्यालाई न्यूनिकरण गर्न यहाँको पानीको स्रोत संरक्षण गर्दै स्रोत पहिचान गर्न आवश्यक रहेको बताए ।
उपाध्यक्ष वलदेव योगीको स्गात मन्तव्यबाट शुरु भएको कार्यक्रममा सचिव सुमन शर्माले सचिवको प्रतिवेदन र कोषाध्यक्ष धु्रव केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थामा वर्षभरी सबैभन्दा वढी शुल्क बुझाउने एक, नियमित शुल्क बुझाउने एक जना उपभोक्तालाई सम्मान तथा पुरस्कृत गरिएको थियो भने संस्थाका सल्लाहकाहरु, कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो ।











