राँझा, १६ माघ । कृषकको लगानीमा बाँकेमा बीउबिजन प्रशोधन केन्द्र सञ्चालन गरिएको छ । दुई करोडको लागतमा जानकी गाउँपालिका–५ बेलहरीमा प्रशोधन केन्द्र स्थापना गरिएको हो ।
सो प्रसोधन केन्द्रमा धान, गहँु र मसुरोको बीउ प्रशोधन हुने गरेको छ । जानकी र खजुरा गाउँपालिकाका दुई हजार ४०२ शेयर सदस्य रहेको जनजागरण बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गरेको उक्त प्रशोधन केन्द्रमा गत वर्ष ४८० बोरा राधा–४ धानको बीउ प्रशोधन गरिएको थियो । “यस वर्ष ६०० बोरा धानको बीउ प्रशोधन गर्ने तयारी छ,” संस्थाका अध्यक्ष होमराज कुर्मीले भन्नुभयो ।
उहाँले ६०० क्विन्टल राधा–४ धानको बीउ भण्डारण गरेर राखिएको बताउनुभयो । चैतमा प्याकिङ गरेर वैशाखमा किसानलाई सो बीउ बिक्री वितरण गरिनेछ । “किसानलाई वितरण गरेको बीउ पछि हामी आफँै खरीद गछौँ,” उहाँले भन्नुभयो । चैतमा धानको बीउ बिक्री वितरण गरी गहुँको बीउ भण्डारण गर्ने तयारी छ गोरखापत्रमा खबर छ।
सहकारीले कृषि अनुसन्धान केन्द्र खजुराले उत्पादन गरेको धानको मूल बीउ तालीमप्राप्त कृषकलाई दिई त्यहाँबाट उत्पादन भएको पहिलो पुस्ताको बीउ प्रशोधन गरेर किसानलाई बिक्री वितरण गर्दै आएको छ ।











