काठमाडौं, २० पुस । सरकारले आर्थिक वर्ष २०७५र७६ का लागि उखुको न्यूनतम खरीद मूल्यप्रति क्विन्टल ५३६ रुपैयाँ ५६ पैसा निर्धारण गरेको छ ।
उखु उत्पादक कृषकले सिधै भुक्तानी पाउने गरी ‘उखु कृषकलाई अनुदान दिने सम्बन्धी कार्यविधि, २०७५’ बमोजिमप्रति क्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान उपलब्ध गराउन अर्थ मन्त्रालयले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई रकम निकासा दिने भएको छ ।
मन्त्रिपरिषद्को पुस १३ गते शुक्रवार र पुस १६ गते सोमवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
अब देशमा सञ्चालित चिनी मिलहरूले सम्बन्धित उखु कृषकहरूलाई प्रति क्विन्टल ४७१ रुपैयाँ २८ पैसा नघटाई समयमै रकम भुक्तानी गर्नुपर्ने सरकारको निर्णय छ । उखु किसानलाई अनुदानका रुपमा सरकारले सिधै प्रति क्विन्टल ६५ रुपैयाँ २८ पैसा दिन लागेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताए ।










