असार २१
अफगानिस्तानको काबुल आक्रमणमा घाइते भई भारतको एपोलो अस्पतालमा उपचारका लागि भर्ना भएका ६ जना नेपाली मध्ये पाँच जना डिस्चार्च भएका छन् । उनीहरुलाई दिल्लीकै एक होटलमा राखिएको छ । चाँडै भन्दा चाँडै उनीहरु नेपाल फर्कने तयारीमा छन् ।  ll

तर गम्भीर रुपमा घाइते भएका मनबहादुर थापाको भने एपोलो अस्पतालको आइसियुमा उपचार भइरहेको छ । घाँटी र खुट्टामा गहिरो चोट लागेका कारण उनको उपचारको लागि थप केही समय लाग्ने जानकारी अस्पतालले दिएको छ ।

उनलाई खाना खुवाउन समस्या भइरहेको छ । तर उनको स्वास्थ्य अवस्था भने सुधारोन्मुख रहेको उपचारमा संलग्न डाक्टरहरुले जानकारी दिएका छन् ।सोमबार साँझ डिस्चार्ज हुनेमा अमृत रोकाय, कुमार बहादुर गुरुङ, कृष्ण बहादुर देउजा, प्रेम बहादुर क्षेत्री र चेतप्रसाद शेरचन छन् ।

घाइतेहरुले भारतस्थित नेपाली दूतावास, अस्पताल र इन्स्योरेन्स कम्पनीले आफ्नो उपचारमा राम्रो सहयोग गरेको बताएका छन् ।तर घाइतेहरु कानको समस्या भने ठिक भएको छैन । घाइतेहरु राम्रोसँग सुन्न सक्दैनन् । उनीहरुको उपचारको सम्बन्धमा अस्पतालले पूर्ण रुपमा अनुमति दिएपछि मात्रै काठमाडौं जाने टिकटको व्यवस्था हुने जानकारी गराइएको छ ।

काबुलमा गत असार ६ गते सोमबार बिहान तालिबानी आतंकवादीले गराएको आत्मघाती बम बिस्फोटमा परि १२ जना नेपाली र २ जना भारतीय नागरिकको मृत्यु भएको थियो  । तालिबान आतंकवादीले नेपाली सुरक्षा गार्ड सवार रहेको मिनिबसमा आत्मघाती हमला गरेका थिए । बिस्फोटमा परी १४ जनाको मृत्यु भएको हो भने ९ जना घाइते भएका थिए ।।