बाँके, २१ असार
राप्ती नदीमा बाढी आएपछि सर्तकता अपनाउन तटीय क्षेत्रमा साइरन बजाइएको छ । बाढी खतराको संकेतभन्दा माथि पुगेपछि वाँकेमा सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले राप्ती नदीको बाढीले खतरा हुनसक्ने भन्दै सर्तकताका लागि साइरन बजाइएको जानकारी दिनुभयो ।
कुसुमस्थित जलमापन केन्द्रका अनुसार नदीमा पानीको सतह बिहान पौने ११ बजेसम्म ४ दशम्लब ९१ मिटर पुगेको छ । कसुमबाट प्रभावित क्षेत्रमा बाढी आउन करिव ६ घण्टा समय लाग्छ । त्यस अवधिमा तटीय क्षेत्रका पानीको सतह ४ दशम्लब ७० मिटर पुगेपछि तटीय क्षेत्रका स्थानीयबासिन्दालाई सचेत गराइन्छ ।
गत वर्षसम्म राप्तीको सतह ५ दशम्लव ४० मिटरलाई खतराको संकेत मानिने गरिएको थियो । राप्ती नदीमा आएको ४ दशमलव ७० मिटर बाढी छेउको होलिया गाउँमा पसेपछि त्यसैलाई खतराको संकेत मानिएको जिल्ला दैवि प्रकोप समितिले जनाएको छ ।
पहाडी जिल्लामा अझै पनि वर्षा भइरहेका कारण राप्ती नदीको सतह बढ्न सक्ने खतरा रहेपनि समितिले सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको छ । भारत सरकारले निर्माण गरेको लक्षमणपुर बाँध र कलकलवा तटबन्धका कारण तटीय क्षेत्रका होलिया, गंगापुर, मटैया, बेतहनी, कम्दी, बनकट्टी, फत्तेपुर, विनौना, वैजापुर, कचनापुर, महादेवपुरीलगायतका हजारौं सर्वसाधारण डुबानमा पर्दै आएका छन् ।।