तुलसीपुर, २८ मंसिर । तुलसीपुर उपमहानगरपालिकाले एकै दिनमा २ वटा वडा भवनको शिलन्यास गरेको छ । नगरप्रमुख घनश्याम पाण्डेले वडा नम्वर २ र १२ को वडा भवनको शिलन्यास गरेका हुन् ।
उनले जनतालाई सर्वसुलभ हुने ठाउँमा वडा कार्यालयको भवन निर्माण गरेको वताए । जनताको कामलाई छिटो र प्रभावकारी ढँगले गर्नका लागि सुविधा सम्पन्न वडा भवन निर्माण गरेको उनको भनाई थियो । तुलसीपुर उपमहानगरपालिकाले वडा भवन निर्माणका लागि यसै वर्ष वजेटको व्यवस्था गरेको हो ।
वडा भवनको उद्घाटन गर्दै नगरप्रमुख पाण्डेले जनप्रनिधिले जनतालाई खोज्दै सर्वसुलभ रुपमा सेवा दिने वेला आएको वताए । ‘अहिलेको समयमा जनताले नयाँ प्रविधिबाट तत्काल सेवा पाउन सकुन् भन्नका लागि आधुनिक डिजाइनको वडा भवनको निर्माण गरिएको हो ’ नगरप्रमुख पाण्डेले भने । उनले जनतालाई सेवा लिनका लागि वजार मै जानुपर्ने वाध्यताको अन्त्य भएको वताउँदै वडा कार्यालयबाटै राजस्व संकलन र घटना दर्ताको काममा तुलसीपुर उपमहानगरपालिकाले अग्रणी भुमिका खेलेको वताए ।
चुनावमा गरेको प्रतिवद्धता अनुसार वडा भवन निर्माण गरेको वताउँदै पाण्डेले आफु प्रतिवद्धताबाट कहिल्यै पनि नभाग्ने वताए । वडा नम्वर २ को तकियापुरमा निर्माण हुन लागेको वडा भवनमा सभाहल सहित पाँचवटा कोठा रहने वडाध्यक्ष राजु आचार्यले वताए । उनले भवन पूर्णत अपाङ्गमैत्री हुने समेत वताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत आनन्द सारु, काँग्रेसका ढुण्डिराज न्यौपाने र एमालेमा भिम योगीले मन्तव्य राखेका थिए ।
यता वडा नम्वर १२ को हरिपौरीमा पनि वडा भवनको शिलन्यास गरिएको छ । वडाध्यक्ष सुर्यवहादुर डाँगीको अध्यक्षतामा भएको शिलन्यास कार्यक्रममा भवनको वारेमा जानकारी गराइएको थियो । ‘जनतालाई पायक पर्ने गरी उपयुक्त ठाउँमा भवन निर्माणको काम अगाडि वढाएका हौ’ वडाध्यक्ष डाँगीले वताए ।
४२ लाख ४७ हजारको लागतमा निर्माण हुन थालेको वडा भवन ३ महिना भित्र निर्माण पुरा हुने इन्जिनियर पवन योगीले वताए । उनले नयाँ प्रविधिमा आधारित भवन भएको समेत वताए । भवन निर्माणका लागि वडा नम्वर १६ मा शिलन्यास गरिसकिएको छ ।











