काठमाडौँ, २७ मंसिर । महान जनयुद्धका शहीद सपनालाई भुलेको आरोप लागिरहेका वेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनक्रान्तिका शहीदको सपना पूरा गराउन आफ्नो पार्टी प्रयासरत रहेको बताएका छन् ।
थारू भाषाको पत्रिका ‘मुक्तिक डगर’(मुक्तिको बाटो) को आज आयोजित कार्यक्रममा विमोचन गर्नुहुँदै उनले शहीद, बेपत्ता तथा घाइते योद्धाको सपना पूरा गराउन आफूले कोही कसैसँग पनि सम्झौता गर्न नसक्ने बताए ।
नेपालको समग्र परिवर्तनका लागि शहीदले बगाएको रगत र देखेको सपना केही पूरा भए पनि केही पूरा नभएकाले त्यसलाई पूर्णता दिनु परिवर्तनकारी शक्तिको दायित्व भएको प्रचण्डले बताए ।
जनयुद्धको समयमा सबैभन्दा बढी त्याग र बलिदान थारू समुदायले गरेको स्मरण गर्दै उनले सो समुदायको अधिकारको पक्षमा अहिले पनि आफू र आफ्नो पार्टी रहेको बताए ।
