इन्द्रेणी संवाददाता
दाङ, २७ मंसिर । आजदेखि घोराही उपमहानगरपालिका वडा नं. १८ नवलपुरमा केशरसिंह श्रेष्ठ स्मृति फुटवल प्रतियोगिता नवलपुर कप–२०७५ शुरु भएको छ । नवलपुर युवा क्लवको आयोजनामा शुरु भएको प्रतियोगिताको उद्घाटन आज विहीबार घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले गरे ।
प्रतियोगिताको उद्घाटन गर्दै चौधरीले खेल मानव स्वास्थ्यका लागि मात्रै नभएर मुलुकै विकासका लागि आवश्यक जनसक्ति निर्माणका लागि भएको बताए । उनले घोराही उपमहानगरपालिकाले खेलकुदको विकासका लागि एक वडा एक खेलमैदानको अवधारणा अनुसार काम गरिरहेको जानकारी दिए ।
कार्यक्रममा शिक्षा प्रेमी तथा खेलप्रमी नारायणसिंह गुरुङ, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नाररायण भुसाल, दाङ जिल्ला फुटवल संघका अध्यक्ष सुशील श्रेष्ठलगायतले अब खेलकुदको विकासका लागि सरकारी, निजी र सामुदायिक क्षेत्रको योगदान अपरिहार्य भएको बताएका थिए ।
पुस ६ गतेसम्म चल्ने प्रतियोगितामा दाङका सात र रोल्पाका एक गरी आठ वटा क्लवले भाग लिएको आयोजकले जनाएको छ । क्लवका अध्यक्ष दिपक पुनको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीलाई स्वागत उपाध्यक्ष कुमानन्द शर्माले गरेका थिए भने सहजीकरण पत्रकार नरेन्द्र केसीले गरेका थिए ।
