बाँके, २६ मंसिर । देशभरि महिला हिंसाविरुद्धको १६ दिने अभियान चलेकै वेला बाँकेको विकट नरैनापुर गाउँपालिका–१ मतनियाँका नुर मोहम्मद खाँ (५१) ले एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद गरे । अभियान चलेकै दिन ९ मंसिरमा खाँले तीन पत्नीलाई तलाक दिएका हुन्।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले खाँले तीनै जना श्रीमतीलाई सम्बन्धविच्छेद दिएको पुष्टि गरे। ‘दुई वटा पत्नी हुँदै तेस्रो बिहे गरेपछि ऊ एक दिन प्रहरी थुनामा पर्यो’, शाहले भने, ‘चौकीबाट छुटेर आएको अर्को दिन तीन वटै पत्नीलाई तलाक दिएको हो।’
खाँका जेठी र माइली पत्नीबाट ६/६ गरी १२ सन्तान छन् । उनले कार्तिकको दोस्रो साता आफूभन्दा आधा उमेरकी २२ वर्षीया भान्जी सिराजुन निशा जोलाहिनसँग प्रेमविवाह गरेका थिए ।











