काठमाडौं, १७ मंसिर । आज २७ औं विश्व अपाङ्गता दिवस । विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ।
समाज कल्याण परिषद्का अनुसार अपाङ्गताको क्षेत्रमा काम गर्ने भनेर दर्ता भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको संख्या झण्डै एक हजार पाँच सय छन् तर अपाङ्गता भएका व्यक्तिको पीडा भने ज्यूँकात्यूँ छन् । राष्ट्रिय जनगणनाअनुसार नेपालको जनसंख्याको करिव पाँँच लाख जना अपाङ्गता भएका व्यक्ति छन् ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, नीति र कानूनमा अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा, पुनःस्थापना, सहभागिता र समावेशीकरणलाई प्राथमिकतामा राखिएको बताएका छन् ।
आज परेको विश्व अपाङग दिवसका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै उनले अपाङ्गता भएका व्यक्तिको राज्यप्रदत्त सेवा सुविधा र अवसरलगायत जनलक्षित हरेक कार्यक्रममा समान पहुँच हुनै पर्दछ, उनीहरुले पनि अरुसरह लाभान्वित हुन पाउनै पर्दछ भन्ने मान्यतामा नेपाल सरकार प्रतिबद्ध रहेको जनाएका छन् ।











