काठमाडौँ, १६ मंसिर । निर्मला पन्तलगायत बलात्कार, महिला हिंसा लगायतका घटनामा दोषीमाथि कारबाही हुन नसकेको आवाज नागरिकस्तरबाट उठिरहँदा बलात्कारका घटनामा थप वृद्धि भएको छ ।

nirmalaअघिल्लो आर्थिक वर्षसम्म औसत दैनिक चारवटा बलात्कारका घटना हुने गरेकोमा चालु वर्षको पहिलो तीन महिनामा औसत ६ वटा घटना भएको प्रहरीको रेकर्ड देखिएको छ । बलात्कारसँगै जबर्जस्ती करणी उद्योग, अप्राकृतिक मैथुन लगायतका घटना पनि बढेका छन् ।

संघीय संसद्को महिला तथा समाजिक समितिमा गृह मन्त्रालयले पेस गरेको लिखित प्रतिउत्तर अनुसार चालु वर्षको पहिलो तीन महिनामा ५९० वटा बलात्कारका घटना दर्ता भएका छन् । साउन, भदौ र असोज महिनामा दर्ता भएका यी घटनामा संलग्न ६९७ जना रहेका छन् ।

यसैबबीच बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको पक्षमा केही दिनयता भएका कार्यक्रममा सरकारले हस्तक्षेप गर्न थालेको छ। राजधानीमा शुक्रबारदेखि भइरहेको एसिया प्यासिफिक सम्मेलनको बहानामा सरकारले निर्मलाको पक्षमा भइरहेका प्रदर्शन र सांकेतिक विरोधलाई रोक्न खोजेको हो।

निर्मलालाई न्याय माग्दै शुक्रबार मात्रै माइतीघर मण्डला क्षेत्रमा टाँसिएका पोस्टर माथिको आदेश भन्दै च्यातेको प्रहरीको टोलीले शनिबार त्यही स्थानमा गरिएको सांकेतिक विरोध कार्यक्रमलाई रोक्ने प्रयास गर्‍यो। विरोध कार्यक्रमलाई रोक्नैका लागि माइतीघर मण्डलादेखि धोबीखोला पुलसम्म ठूलो संख्यामा सशस्त्र प्रहरी र नेपाल प्रही तैनाथ गरयो ।