इन्द्रेणी संवाददाता
दाङ, असार २० । रुकुममा हतियारसहित गाउँमा चन्दा आतंक मञ्चाउन थालेपछि स्थानीयहरु आतंकित भएका छन् । आफुलाई मंगोल नेशनल नामक पार्टीका कार्यकर्ता वताउने हतियार धारी समुहले रुकुमको पूर्वी गाविस प्वाङ र जाङमा घर घरबाट युवाहरु लैजान थालेका छन् । यसले गर्दा युवाहरु गाउँबाट विस्थापित भएका छन् ।
मंगोल पार्टीका कमाण्डर उपेन्द्र घर्तीमगरले प्रत्येक घरबाट एक जना व्यक्ति आफ्नो लडाकु दस्तामा समावेश हुन उर्दी जारी गरेपछि युवाले घर छाडेका हुन् । पार्टीका कार्यकर्ताले एक घरबाट एक जना र १५ देखि ३० हजार रुपैयाँसम्म चन्दा मागेका कारण जनजीवन निकै त्रसित बनेको स्थानीय बासिन्दाको भनाइ छ । सुरक्षा निकायले भने यस बारेमा केही जानकारी नआएको जनाएको छ ।
