इन्द्रेणी संवाददाता
दाङ, १४ मंसिर । दाङमा एक जना व्यवसायीको छुरी प्रहार गरी हत्या गरिएको छ । रोल्पा माडी गाउँपालिका वडा नं. ६ कोर्चावाङ घर भई घोराही उपमहानगरपालिका वडा नं. १४ नयाँ वसपार्कको माथिल्लो सेवार पुल नजिकै माडी हार्डवेयर पसल सञ्चालन गर्दै आएका ४६ वर्षिय नन्दबहादुर घर्तीको हत्या भएको हो ।
उनको विहीबार साँझ घोराही १३ लामीडाँडाको दुधेसोतामा छुरी प्रहार भएको थियो । उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । घटनामा उनीमाथि प्रहार गरिएको चक्कु समेत फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
विहिबार बेलुका रात पर्नेबेला एक जनाले ५ लाख रुपैयाँको हार्डवेयरको सामान खरिद गरेको र २ लाख ५४ हजार रुपैयाँ अपुगभएपछि घर्तीलाई तपार्इँ जमानी बसेपछि पैसा दिन्छ जाउ लिन भनेर लगेर गएको र आधा घण्टामा घटनाका बारेमा स्थानीयले खबर गरेको पारिवारिक स्रोतले जनाएको छ । सामान खरिद गर्न आएका रोल्पा तालाबाङका अमर खत्री भएको र उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसैवीच दाङ जिल्ला उद्योग बाणिज्य संघको आह्वानमा शुक्रवार शोकमा एक दिनका लागि बजार बन्द गरिएको छ । व्यवसायीको हत्याको शोकमा बजार बन्द गरिएको अध्यक्ष नारायण भुषालले बताए ।











