दाङ, १३ मसिर । जिल्ला समन्वय समिति दाङले घोराही उपमहानगरपालिका वडा नं. १६ का अध्यक्ष लछिनप्रसाद बुढामगरको असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ । वडा अध्यक्ष बुढा मगरको विहीबार बिहान निधन भएको थियो ।
समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली र उपप्रमुख श्रीधरशर्मा पौडेलले विहीबार शोक विज्ञप्ती जारी गरेर उनको निधनले घोराही १६का नागरिकले आफ्नो अभिभावक गुमाएको र जिल्लाबासीले कुशल र सक्षम जनप्रतिनिधि गुमाएको उल्लेख छ ।
‘दुःखको यस घडिमा लछिनजीप्रति हार्दिक श्रद्धाञ्जली तथा उनको निधनले भावविह्वल परिवारजनहरुमा गहिरो समवेदना व्यक्त गर्दछौ’ विज्ञप्तीमा भनिएको छ ‘ उनी जनस्तरमा स्थापित, मिलनसार र जनसेवामा निरन्तर लागिरहने असल जनप्रतिनिधि भएको स्मरण गर्दै एक असल जनप्रतिनिधि गुमाउनुपर्दा दाङवासीलाई अपूरणीय क्षति भएको छ ।’











