काठमाडौँ, १० मंसिर । कक्षा १२ को परीक्षापछि हरेक विद्यार्थीले कम्तीमा तीन महिना अवधिको व्यावसायिक सीपमूलक तालिम अनिवार्य रूपमा लिनुपर्ने छ । कक्षा १२ को नतिजा प्रकाशित नहुन्जेलसम्मको अवधिलाई सदुपयोग गर्न र विद्यार्थीलाई प्राविधिक शिक्षातर्फ आकर्षित गर्न यस्तो प्रस्ताव अगाडि सारिएको हो ।

cookingप्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका बारेमा सुझाव सिफारिस गर्न गठित कार्यदलले नीति, रणनीति तथा कार्यनीतिका बारेमा प्रस्तावित खाका तयार गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमक्ष बुझाएको छ । त्यसमा कक्षा १२ को नतिजापछि अनिवार्य रुपमा तालिमको प्रस्ताव गरिएको छ ।

कार्यदलका सदस्यसचिव तथा शिक्षा मन्त्रालयका उपसचिव डा. मुकुन्दमणि खनालले प्राविधिक तथा व्यावसायिक तालिमतर्फ युवाको आकर्षण बढाउनुपर्ने देखिएको बताउँदै भने भने, “प्रत्येक स्थानीय तहले आगामी पाँच वर्षभित्र कम्तीमा एउटा प्राविधिक तथा व्यावसायिक शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने गरी प्रस्ताव तयार गरेका छौँ ।”

कार्यदलले प्रत्येक प्रदेशमा कम्तीमा एउटा नमूना बहुप्राविधिक विद्यालय स्थापना र मागका आधारमा जिल्लास्तरमा पनि कम्तीमा एउटा बहुप्राविधिक विद्यालय स्थापना गर्नेगरी योजना अगाडि बढाउन सरकारलाई सिफारिस गरेको छ । पाँच वर्षभित्र प्रादेशिक तहमा प्राविधिक तथा व्यावसायिक शिक्षकका लागि तालिम केन्द्र स्थापना गर्ने पनि योजना प्रस्ताव गरिएको छ ।