काठमाडौँ, मंसिर । नेपाल खाद्य संस्थानले यस वर्षका लागि एक महिना ढिला गरी भए पनि धान खरिद प्रक्रिया शुरु गरेको छ । संस्थानले यस वर्षका लागि पहिलो चरणमा दुई लाख २० हजार क्विन्टल धान खरिद गर्ने प्रक्रिया शुरु गरेको हो ।
अघिल्ला वर्षहरूमा कात्तिकको शुरुदेखि धान खरिद प्रक्रिया शुरु गर्दै आएको संस्थानले यसपटक मङ्सिरदेखि मात्रै धान खरिदको प्रक्रिया शुरु गरेको जनाएको छ ।
संस्थानका प्रवक्ता शङ्करप्रसाद सापकोटाले संस्थानको धान खरिद प्रक्रिया विगतभन्दा केही ढिला भए पनि धान खरिदको मुख्य समय यही भएकाले खरिदमा कुनै समस्या नहुने दावी गरे ।
प्रवक्ता सापकोटाका अनुसार संस्थानले यस वर्षका लागि तीन लाख ५० हजार क्विन्टल धान खरिद गर्ने योजनासहित ९१ करोड रुपियाँ विनियोजन भएको आजको गोरखापत्रमा खबर छ ।











