काठमाडौं, ३० कार्तिक । सरकारले स्वास्थ्य तथा जनसंख्यासचिव डा. पुष्पा चौधरीमाथि कारबाहीको तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिए पनि सचिव चौधरी हाजिर हुन नगएपछि उनीमाथि कारबाही गर्ने मनस्थितिमा सरकार पुगेको हो ।

puspaसरकारको निर्णयविरुद्ध सचिव सर्वोच्च अदालत गएको नेपालको इतिहासमा पहिलो घटना हो । ‘यस विषयमा सरकार मौन बस्न सक्दैन,’ प्रधानमन्त्री कार्यालयका एक सचिवले भने । सर्वोच्चको आदेशसँगै चौधरी प्रधानमन्त्री कार्यालयमा जानकारी नै नगराई नियमित रूपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जाने गरेकी छन् । सरकारले उनको सबै अधिकार खोसेको छ ।

गत २८ असोजको मन्त्रिपरिषद् बैठकले चौधरीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सरुवा गरेको थियो । नयाँ पत्रिकामा खबर छ -सरकारको निर्णयविरुद्ध उनले सर्वोच्च अदालतमा मुद्दा हालेकी थिइन् । उनको मुद्दामा सुनुवाइ गर्दै सर्वोच्च अदालतले १५ कात्तिकमा सरकारको निर्णय कार्यान्वयन नगर्नु भन्दै अन्तरिम आदेश दिएको थियो ।